

आज ईसाई धर्मावलम्बीले मनाउँदै क्रिसमस

काठमाडौं । आज अर्थात् डिसेम्बर २५ । हरेक वर्ष ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेका रुपमा मनाउँदै छन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो ।
इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक –सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।
यसैअवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छन् ।