

श्रीमतीले पार्टी छोडेपछि सांसदले गरे सम्बन्ध विच्छेदको घोषणा

पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ।
सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका छन्।

पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
सोमवार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन्। उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन्।
त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे।
उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न भने। “कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू। म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु।”
“टीएमसीले मेरो श्रीमती चोर्यो, मेरो माया लग्यो,” उनलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ। यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तर्वार्ता छापेका छन्।
“उनी मेरो माया थिइन्। उनी साह्रै राम्रो श्रीमती थिइन्। उनी मेरो एकमात्र कमजोरी थिइन्,” श्रीमान् खानले एक पत्रकारलाई भनेका छन्।
उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन्। एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन्।
अन्य एक पत्रकारलाई श्रीमतीलाई यथोचित सम्मान नभएको कुरा गलत भएको दाबी गर्दै उनले भने: “मोदीले उनलाई बहिनी भन्छन्। योभन्दा बढी के चाहियो?”
श्रीमती खानले आफूलाई श्रीमानले वास्ता नगरेको बताइन्। “उनी राजनीतिमा व्यस्त भए। मेरो लागि समय दिएनन्। उनले महिनौँदेखि मैले खाएँ कि खाइनँ भनेर पनि सोधेका छैनन्।” -बीबीसी