

राष्ट्रलाई केन्द्रमा राखेर छलफलमा जुट्न परिवार दलको आग्रह

काठमाडौं । नेपाल परिवार दलले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गरेको छ ।
दलको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारको बुधबारको बैठकले राजनीतिक दलबीच संवाद र सहकार्य गर्दै नागरिकको हितमा केन्द्रित हुन आग्रह गर्ने निर्णय गरेको हो ।
दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालका अध्यक्षतामा बसेको बैठकले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।