दुईदिने सुनुवार (कोइँच) सांस्कृतिक महोत्सव सम्पन्न



ओखलढुंगा । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं. ९ वाच्पुस्थित पोकलीमा आयोजना गरिएको दुईदिने सुनुवार (कोइँच) सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।

मंगलबारदेखि सुरु भएको महोत्सवको अन्तिम दिन आज भएको समापन समारोहको सुनुवार सेवा समाज संघीय समितिका उपाध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समापन समारोहमा खिजिदेम्बा–५ का वडाध्यक्ष रामकुमार सुनुवारलगायतका वक्ताले मन्तव्य राखेका थिए ।

त्यसअघि सुनुवार समाजसेवा अन्तर्गतका जिल्ला समितिहरुले मौलिकता झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

त्यसअघि मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन सत्रमा बागमती प्रदेश प्रमुख बाबुराम गौतम, संघीय सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदीपकुमार सुनुवारलगायतको उपस्थिति रहेको थियो ।

महोत्सवमा सुनुवार सांस्कृतिक महोत्सवका रुपमा लिइएको उक्त महोत्सवमा सुनुवार जातीको संस्कृति झल्काउने विभिन्न झाँकी तथा कार्यक्रमहरुका साथै सुनुवार खानाको समेत प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । त्यसका साथै विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।

महोत्सवमा अशोक मुकारुङ, बबिना किराँती, पुष्कर सुनुवार, कल्पना सुनुवार, महेशकुमार सुनुवार, पूजा सुनुवार, अप्सरा सुनुवार र कृष्णमाया सुनुवारलगायतका राष्ट्रिय कलाकार र विभिन्न स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए ।

सुनुवार सेवा समाज, हिमचुली जनजागरण युवा क्लब र पोकली झरना सेवा समाजको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम दुईदिनसम्म चलेको थियो ।