

सेनाको सर्भर ह्याक गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडाैं । नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौर बस्ने २१ वर्षका सागर ढकाललाई पक्राउ गरेको हो।
उनले सो स्थानमा डेरामा बसेर घर धनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले साइबर ब्यूरोलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेको थियो।
साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त कार्यमा उनको संलग्नता पुष्टि भएपछि उनलाई ब्यूरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा सम्मानित जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए।