रामेछापको काैछिनीमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ९ घाइते



मन्थली । रामेछापमा भएकाे गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। मृतक ५ मध्ये ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हाे ।

बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका-७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए।

बा ११ च ५०५३ नम्बरको बोलेरो दुर्घटना दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको उनले बताए।

‘हामीले उद्धार गरेर १० जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने,‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो।’

दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।  मृतक सबैको सनाखत भएको छ। मन्थली नपा-७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्।

कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो। उनको मन्थली अस्पतालमा मृत्यु भएको डिएसपी पराजुलीले बताए।

अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।