

उपनिर्वाचनः आज उम्मेदवारविरूद्ध उजुरी दिने दिन

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो ।
तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।