

नेपाली र अमेरिकी सेनाबीच द्विपक्षीय छलफल

काठमाडाै । नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय स्थलफौज वार्ता सम्पन्न भएको छ ।
दुई सेनाबीच हरेक वर्ष हुँदै आएको चौथो संस्करणको वार्ता बुधबार सम्पन्न भएको हो । दुई सेनाबीच नेपालमा प्रकोप उद्धार कार्यका लागि नेपाली सेनाको क्षमता अभिवृद्धि तथा अमेरिकी सेनाको अनुभव साटासाटको विषय र शान्ति स्थापक नेपाली सैनिकको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
नेपाली सेनाका तर्फबाट उपरथी अशोकराज सिग्देल र अमेरिकी सेनाका तर्फबाट प्यासिफिक कमान्डका उपकमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले नेतृत्व गरेका थिए । ‘छलफलमा मानवीय सहायता तथा विपत् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपत् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो,’ सैनिक मुख्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरे पनि नेपाली सेनालाई निरन्तर सहयोग दिने अमेरिकी सैन्य अधिकारीले बताएका थिए ।
छलफलमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि सैनिक अधिकारीसहित १४ जना थिए । अमेरिकी टोलीमा २२ जना सहभागी थिए ।
अमेरिकी सेनाको प्रतिनिधिमण्डलका प्रमुख मेजर जनरल स्मिथले प्रधानसेनापति प्रभुराम शर्मा र रक्षासचिव किरणराज शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेको सैनिक मुख्यालयले जनाएको छ । ‘छलफलले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस किसिमको द्विपक्षीय संवादको अर्को संस्करण अर्को वर्ष अमेरिकामा आयोजना हुनेछ ।’