

बङ्गलादेशबाट रासायनिक मल ल्याउन सम्झौता

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ ।