भूमि बर्गीकरण गर्ने मधेशकै पहिलो नगरपालिका बन्यो लहान नगरपालिका
अब २/४ दिनभित्रै नगरभित्रको कित्ताकाट खुल्छः मेयर चाैधरी
लहान । लहान नगरपालिकाले नगर भरिका भूमीलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेको छ । अब जग्गाको किताकाट र किनबेच हुने बाटो खुलेको छ ।
नगरपालिकाले कृषि, आवसीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी/खोला/ताल/सिमसार, सार्वजानिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरेको छ ।
भूमी वर्गीकरण गरी मालपोत र नापी बुझाउने लहान नगरपालिका जिल्ला पहिलो पालिका बनेको छ । त्यसका लागि मेयर चौधरीले जग्गा वर्गीकरण नहुँदा किताकाट र किनबेच रोकिएकोमा अब त्यसबाट मुक्त भएको बताएका छन् । उनले वर्षौंदेखिको समस्या समाधान हुने बताउँदै केही दिनमै कित्ताकाट खुल्ने विश्वास लिए । उनले नगरपालिकाले जहिले पनि नागरिक र जनताकै पक्षमा काम गर्ने प्रण गरे । उनले लहान नगरपालिकाले नै सबैभन्दा पहिला काम सकाएको बताउँदै ३५÷४० वर्षदेखि रोकिएका कामलाई अगाडि बढाउने पनि प्रण गरे । उनले सुन्दर नगरको परिकल्पना गर्दै छिटै नगरपालिकाले यससम्बन्धी काम अगाडि बढाउने पनि बताए ।
जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो । सोहीअनुसार १० क्षेत्रमा वर्गीकरण गरी विवरण मालपोत र नापीलाई बुझाइएको मेयर महेश चौधरीले जनाएका छन् । वर्गीकरणका लागि लहान नगरपालिका भू–उपयोग परिषदले फाल्गुन १४ गते निर्णय गरेको थियो ।