

न्यायाधीशद्वय मल्ल र चुडालको इजलासबाट सन्दीपको मुद्दाको अन्तिम फैसला आउँदै !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ ।
शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । अन्तिम सुनुवाईका लागि न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा उक्त मुद्दाको पालो परेको छ ।
यसअघि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्ने गरी आदेश दिँदै आजका लागि पेसी तोकिएको थियो ।
आज सर्वोच्चले सन्दीपको पक्षमा फैसला गरेको खण्डमा सन्दीपलाई युएईमा जारी आईसीसी विश्वकप लिग–२ को खेल खेल्न युएई जाने बाटो खुल्नेछ ।
नेपाली टोली शनिबार नै गइसकेको छ भने सन्दीपले भोली हुने पहिलो खेल गुमाउने भए पनि अन्य खेलमा सहभागी हुनका लागि युएई जानेछन् । अन्तिम फैसलाका लागि तोकिएपछि कस्तो फैसला आउला त्यसको प्रतिक्षमा नेपाली क्रिकेटप्रेमीहरू उत्सुकतापूर्वक कुरिरहेका छन् ।