

पूर्वप्रधानसेनापति कटवालको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा राखी उपचार गरिँदै

काठमाडौं । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्। दुवै मिर्गौला फेल भएर डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आइसीयूमा रहेको बताए । प्रवक्ता भण्डारीका अनुसार उनले हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका थिए । पल्मनेरि ह्यामरेज भएपछि उनलाई चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो। उनको स्वास्थ्य अवस्था स्थीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारीमा थिए । २०६६ वैशाख २० गते तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेपछि विवाद भएको थियो । तत्कालिन राष्ट्रपति रामबरण यादवले कट्वाललाई नै निरन्तर काम गर्न पत्र दिएपछि प्रचण्डले राजीनामा दिएका थिए।