आखिर अञ्जुले पनि पति दीपककै बाटो पछ्याएपछि…



पोखरा । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकी कोपाइलट अञ्जु खतिवडा पारिवारिक वियोगपछि पाइलट भएकी थिइन् । २०६३ सालमा पति दीपक पोखरेललाई विमान दुर्घटनामा गुमाएपछि उनको सपना पूरा गर्न पाइलट पढेकी अञ्जुको पनि अहिलेको अवस्थामासम्म अज्ञात नै छ ।

दुर्घटनामा हालसम्म ६२ जनाको शव निकालिसकिएको अवस्थामा उनको अवस्था के छ भन्ने कुरा खुल्न सकेको छैन । तर, घटनास्थलको प्रकृति हेर्दा अब त्यहाँ कुनै पनि व्यक्ति सकुशल वा घाइते रुपमा फेला पार्न नसकिने रहेको छ । त्यसैले सम्भवतः अञ्जुले पनि पति दीपककै बाटो पछ्याएको अनुमान गर्न सकिन्छ ।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेर पति दीपक पोखरेल गुमाएपछि उडान क्षेत्रमा आएकी को–पाइलट अन्जु खतिवडा पोखरामा भएको विमान दुर्घटनामा परेकी हुन् । एक छोरा र एक छोरीकी आमा रहेकी खतिवडाले पति पोखरेलको सपना पूर्ण गर्ने अभियानमै रहेका बेला एकाएक अज्ञात रहन पुगेकी छिन् ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी. र को–पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।

१६ वर्ष अघि यति एयरलाइन्सकै विमान दुर्घटनामा ज्यान गुमाएपछि पाइलट कोर्स पूरा गरेर आकाशे उडानमा पखेटा फिँजाएकी अञ्जुले अन्ततः पतिसँगै आकाशबाटै हराउन पुगिन् । हुन त अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइए पनि दुर्घटनास्थलमा रहेका सुरक्षाकर्मी र पोखरा महानगरपालिका प्रमुखको ‘घटनाबाट जीवित उद्धार गर्ने सम्भावना सकिएको’ भन्ने अभिव्यक्तिसँगै उनी अब सकुशल फर्कने सम्भावना नरहेको मान्न सकिन्छ ।

विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका छन् । ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमा ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेन्टिना, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।