समावेशी शिक्षाका लागि ‘सबैका लागि पढाइ कार्यक्रम’को भूमिका महत्वपूर्ण



काठमाडौं । नेपालमा समावेशी शिक्षाका लागि ‘सबैका लागि पढाइ कार्यक्रम’ को भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । अपाङ्गता भएका नागरिकहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, यूएसएआइडी र हेण्डिक्याप इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीले ‘सबैका लागि पढाइ कार्यक्रम’ ले शिक्षकहरुमा एक तरंग पैदा भएको बताए । समावेशी शिक्षा आजको आवश्यकता रहेको भन्दै अध्यक्ष अधिकारीले समावेशी शिक्षाको वहस गर्नुपर्नेमा जोड दिए ।

No description available.

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले ‘सबैका लागि पढाइ कार्यक्रम’ ले सबै शिक्षहरुका लागि थप सहज भएको बताए । यस कार्यक्रमहरुलाई अहिले स्थानीय सरकारले समेत अवलम्बन गरेको उनको भनाइ छ ।

सरकारले समावेशी शिक्षा नीति २०६३ खारेज गरेको भन्दै यसलाई पुनः स्थापित गर्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

कार्यक्रममा भिइओकी मूना मूलेपाटीले यस परियोजनाले तथ्यांकको गुणस्तर विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले विशेष विद्यालय बनाउन, शिक्षकका लागि तालिम प्रदान गर्नका लागि परियोजनाले भूमिका खेलेको बताइन् ।

No description available.

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत नारद धमालाले स्थानीय तहमा ‘सबैका लागि पढाइ कार्यक्रम’ले केहि कार्यक्रमहरु, तालिम, प्रशिक्षण लगायतका कार्यक्रम गर्न सफल भएको बताए । स्थानीय तहले नीति निर्माणका क्रममा, बजेट निर्माणका क्रममा यस परियोजनाबाट प्रभावित भइ समावेशी शिक्षालाई जोड दिन थालेको भन्दै उनले यो यस कार्यक्रमको उपलब्धी भएको बताए ।

कार्यक्रममा हेण्डि क्यापकी सन्जु नेपालीले यस परियोजनाबाट भएका उपलब्धिका बारेमा जानकारी गराएकी थिइन्।

कार्यक्रममा सहभागिहरुले अझै पनि अपांगता भएका बालबालिकाहरु शिक्षण प्रक्रियामा आउन नसकेको बताएका थिए ।  कार्यक्रमको सहजीकरण हण्डि क्यापका कार्यक्रम व्यवस्थापक पदम महरले गरेका थिए ।