

१८३ नेपाली शान्ति सैनिकको कमाण्ड गर्दै प्रमुख सेनानी थापा सिरिया प्रस्थान

काठमाडाैं । नेपाली सेनाले पश्चिम एशियाली मुलुक सिरियामा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।
संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ), सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर सेमु छैटौं डफ्फा, लेवल १ (+) अस्पताल तेस्रो डफ्फा र क्लोज प्रोटेक्शन युनिट दोस्रो डफ्फाको बदली भएको हो।
यी डफ्फालाई बदली गर्न फोर्स हेडक्वार्टर सपोर्ट युनिट एघारौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म छैटौं डफ्फा, इन्जिनियर सेमु सातौं डफ्फा, लेबल १ (+) अस्पताल चौथो डफ्फा र क्लोज प्रोटेक्शन युनिट तेस्रो डफ्फाका १८३ जना शान्ति सैनिक प्रमुख सेनानी रोशन थापाको नेतृत्वमा सोमबार काठमाडौंबाट मिशन इलाका प्रस्थान गरेका हुन्।
फोर्स हेडक्वार्टर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर सेमु छैटौं डफ्फा, लेवल १ (+) अस्पताल तेस्रो डफ्फा र क्लोज प्रोटेक्शन युनिट दोस्रो डफ्फाका १७८ जना शान्ति सैनिक प्रमुख सेनानी मदन थापाको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा यूएन मिशनहरूमा खटिएर शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।