

सशस्त्रले बढायो निर्वाचनका समयमा हुनसक्ने तस्करी रोक्न सक्रियता

काठमाडौं । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।
निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतबार राति बेतहनीमा अवैध रुपमा भित्रिएको तीन सय ५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए ।
रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शङ्काका आधारमा सोधपुछ गर्दा अवैध रुपमा भित्रिएको गहुँ फेला पारेपछि आइतबार रातिनै गहुँसहित उक्त ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । सुरक्षा गस्तीका क्रममा अन्य स–सानो परिमाणका अवैध रुपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडासमेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ ।
अवैध गहुँसहित पक्राउ परेको ट्रकमा चार सय २० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा तीन सय ५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए । “उक्त गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुनसकेको छैन, आज बयान हुँदैछ”,भट्टले भने ।