रामदेवका ५ औषधिमा प्रतिबन्ध

दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न निर्देशन



उत्तराखण्ड । भारतको उत्तराखण्डमा रामदेवको कम्पनीका पाँचवटा औषधिको उत्पादनमा प्रतिबन्ध लगाइएको छ । कम्पनीलाई ‘भ्रामक विज्ञापन’ गरेको आरोप लागेपछि यो कारबाही गरिएको हो ।

उत्तराखण्डको आयुर्वेदिक र युनानी सेवाका अधिकारीहरूले पतञ्जलीका उत्पादनहरू बनाउने दिव्या फार्मेसीलाई पाँचवटा औषधिको उत्पादन रोक्न भनेका छन्। यससँगै कम्पनीलाई यी पाँच उत्पादनका विज्ञापन मिडियाबाट फिर्ता लिन पनि भनिएको छ ।

योग गुरु रामदेवको पतञ्जली कम्पनी अन्तर्गत पर्ने यो फार्मेसीले बारम्बार ‘ड्रग्स एण्ड मेजिक रेमेडिज एक्ट’ को उल्लंघन गरेको पाइएको थियो ।

फार्मेसीलाई दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न भनिएको छ। यी औषधिहरू मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न प्रयोग गरिन्छ।

यी पाँच औषधिको ढाँचा सम्बन्धित विभागबाट स्वीकृत नभएसम्म यी पाँच औषधिको उत्पादन बन्द गर्न दिव्य फार्मेसीलाई निर्देशन दिइएको हो ।

भविष्यमा पनि दिव्य फार्मेसीका विज्ञापनका लागि आयुर्वेद र युनानी लाइसेन्सिङ प्राधिकरणबाट स्वीकृति लिनुपर्ने अधिकारीले बताए । यदि स्वीकृति बिना विज्ञापन जारी रहेमा फार्मेसीलाई थप कारवाही हुनेछ ।