

रोहित भए नेपाली क्रिकेटको नयाँ कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो ।
तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् ।
रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए ।
उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी२० खेलमा दुई सय २० रन जोडेका छन् ।
रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।