प्रधानसेनापति शर्माले गराए सुरक्षा निकायका चारै प्रमुखलाई मध्यपूर्वी पृतनाको भ्रमण



काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर र बाराको जितपुरस्थित नं. २८ बाहिनी अड्डाको निरीक्षण गरेका छन्।

उक्त निरीक्षण भ्रमणमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाकाे पनि  सहभागिता रहेकाे थियाे।

निरीक्षण भ्रमणका क्रममा उनले मध्यपूर्वी पृतना हेडक्वार्टरको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजना र बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।

उक्त अवसरमा प्रधानसेनापति शर्माले मध्यपूर्वी पृतना हेडक्वार्टर तथा बाहिनी अड्डाका सकल दर्जालाई सम्बोधन पनि गरेका थिए।

बिहीबार नै प्रधानसेनापति शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी सञ्चालन अधार (सीओबी)को निरीक्षण गरेका थिए। साथै उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिएका थिए।

सोही क्रममा प्रधानसेनापति शर्माले उक्त सीओबीमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिए।

रक्षासचिव किरणराज शर्मा, गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी निरक्षण भ्रमणमा प्रधानसेनापति शर्माले महोत्तरी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरूका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया पनि गरेका थिए।