

सैनिक जवान महतोले गुमाए ट्रकको ठक्करबाट ज्यान

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सोमबार राति चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलास्थित पृथ्वी राजमार्गमा धादिङबाट फिस्लिङतर्फ आउँदै गरेको ना ३३ प ३६५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार घाइते भएका मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका ३ बस्ने ३२ वर्षका प्रेमबहादुर गुरुङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।