

सेनाका सहायकरथी थापाको पदावधि थप, चार प्रमुख सेनानी महासेनानीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका सहायक रथी विजय थापाको पदावधि थप गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी थापाको पदावधि २०८० असोज १ गतेसम्मलाई थप गर्ने निर्णय गरेको हो। सहायक रथी थापा यसै महिना हुने उपरथी बढुवाको पहिलो नम्बरमा समेत छन्।
यस्तै सरकारले नेपाली सेना सैनिक हवाई सेवा पाइलट समूहका प्रमुख सेनानी सुवास खड्कासहित चार पाइलट प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी नेपाली सेना सैनिक साधारण सेवा समूहका महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मितिभन्दा एक महिना अघिदेखि लागू हुनेगरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने निर्णय बैठकले गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।