प्रदीप ज्ञवालीलाई एउटा मतदाताको प्रश्न, अनि उनको उत्तर !

तपाईं मामाघर जाँदाखेरि घरै अगाडीको त्यो जीर्ण काठको पुल देख्नु भएको छ?



गुल्मी । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गइरहँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई एक मतदाताले राखेको प्रश्नको उत्तर दिँदै शालिनता र जिम्मेवारी प्रस्तुत गरेका छन् ।

निर्वाचनको संघारमा रहेका बखत आफ्नै मतदाता भुवन गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदीप ज्ञवालीसमक्ष गरेका गुनासोको उत्तर दिँदै ज्ञवालीले भनेका छन्, ‘प्रिय भुवन, आफ्नो जनप्रतिनिधिका हैसियतले तपाईँले मसँग राख्नु भएका प्रश्नलाई स्वाभाविक ठान्छु र तपाइँको सार्वभौम अधिकारलाई म सम्मान पनि गर्छु । स्वस्थ बहसले सार्थक निष्कर्ष निकाल्न सहयोग गर्छ । वादे वादे जायते तत्व वोधः भनेर अग्रजहरुले त्यसै भनेका होइनन् ।’

त्यसअघि गौतमले आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेता ज्ञवालीलाई प्रश्न सोध्दै गुल्मेली जनताले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराउँदै कैयौं प्रश्न राखेका थिए । गौतमले ज्ञवालीलाई, ‘तपाई मामाघर जांदाखेरि घरै अगाडीको त्यो जिर्ण काठको पुल देख्नु भएको छ ? सयौं भाईबहिनाको उज्ज्वल भबिष्य बोकेको त्यो पुलमा कति बच्चाले खुट्टा अड्काए, दुर्घटित भए, कति त्रासपूर्ण यात्रा गरेको कहिल्यै देख्नु भएको छ ? समृद्द नेपाल र सुखी नेपाली को नारा घनकाउंदा अझै हामि मक्किएको काठको पुलमा यात्रा गर्नु पर्ने हो र ?’  भन्दै प्रश्न सोधेका थिए ।

 

यस्तो छ मतदाता र उम्मेदवारबीच भएको सामाजिक सञ्जालको क्रिया प्रतिक्रियाः

गौतम लेख्छन्,

प्रिय प्रदिप कमरेड !

तपाईको नामार्थ दिप हो, प्रकाश हो । प्रकाश जस्तो तेज्, गतिशिल अरु चिज यो धर्तीमा छ जस्तो मलाई लाग्दैन । प्रकाशमा रशिला आँतहरु सेकाउने न्यांना किरण अनि भिजेका सपना सुकाउने तागत हुन्छ । तपाइँ भित्रको त्यहि प्रदिप र किरणले गुल्मीका खुल्ला फांट र टारहरुलाई बादलले छोपेकै हो त भन्ने कुराको निस्कर्षमा पुगें। गुल्मेली माया र सद्भाबले तपाईलाई ०५६,०६४ र ०७४ को चुनाबले राजनैतिक उचाईको शिर्ष बिन्दुमा र पार्टिको अग्रस्थानमा पुर्याएकै हो ।

आज तपाइँलाई सिङो देशले ओझिलो र निष्ठावान नेता भनेर चिन्छ । हामिलाई त्यस कुराले गर्भानुभुत पनि हुन्छ । तपाइँ माथि गुल्मेलीको निक्कै लामो अपेक्षा थियो तर हाम्रो दुर्भाग्य हो या यहांको राष्ट्रिय राजनीति र पार्टि भित्रको किचलो र हानाथापले, हाम्रा आशा माथि कुठाराघात भएकै हो, बच्चाका कलिला सपना तुहाउने, पाना दिएर कलम नदिने सधै आश्वाशनले थोपर्ने लाई बुवा भन्न मिल्दैन, जन्म दिनु र अबिभाबकत्व निभाउनु फरक कुरा हो । एउटै सपना बाट बारम्बार थिचिएर नयां सपना कहिल्यै देख्न नसक्ने गरि थला पर्यौ ।

किशोरावस्था देखिनै राजनीतिमा होमिएको तपाई जस्तो व्यक्तित्व, तपाईकै सब्दमा गुल्मीलाई कांचुली फेर्ने भनेर पटक पटक बिजयी गराएर तपाइँले आफ्नो पद र उचाई जति फड्को मार्नु भयो त्यति फड्को के गुल्मीलाई पुर्याउनु भएकै हो त ? महोदय, जो संग बढी भरोषा र अपेक्षा हुन्छ त्यसैसंग बढि बितृष्णा र चिड्चिडाहट पनि हुनेरहेछ ।

२०४६ साल देखि संचालनमा आएको जम्मा ४७ कि.मि लामो रिडी–वामी मोटरबाटोलाई फर्केर हेर्नु पर्ने होइन र ? त्यहि हिलाम्मे धुलाम्मे बाटोमा कष्टकर यात्रा गरि तपाइँलाई भोट हाल्न हिंडियो र त्यहि बाटोको नाराले तपाइँलाई पटक पटक सदनमा लग्यो,पटकपटक मन्त्री बनायो । के सधै कागजी अड्चन, ठेकेदारको बदमाशी, टेन्डर लफडा देखाएर बाटो बनेन भनेर पन्छिन मिल्छ र ? तपाइँका घोषणापत्र पढ्न नजान्ने, तपाइँका भाषण बुझ्न नसक्ने र पार्टिको सिद्दान्त थाहा नहुने, त्यो छेउ बस्तिका सर्बहारा जनताका मुजा परेका हातले तपाईलाई बारम्बार जिताएर पठाउनु के तिनीहरुको अभिषाप हो महोदय ? आज उल्लिखोलाको त्यो लेते खोलाको अबस्था, र सवारी साधन के कसरि चलेका छन् जनाजाहेरै छ ।

तपाईलाई हामीले हाम्रो भूगोल सुम्पेका थियौ , बिकासका मूल फुटाउने भनेर भोट दिएका थियौ, तर तपाई हाम्रा सपना थांति राखेर पार्टी र राष्ट्रिय राजनीतिमा शिर्ष स्थानमा उदय हुनुभो, केन्द्रमुखी हुनुभो, तर हाम्रो खप्पर फुट्यो। तपाईले अरुलाई दोष देखाउने थुप्रै ठाँउ भेटिएलान तर हामीले कसलाई दोष देखाउने,सुनाउने र कसले सुन्ने?

चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विसं २०६३ मा तपाईले सिलान्यास गरेको रेशुङ्गा विमानस्थल अझै संचालनमा आएको छैन । पहिले त संरचना पूरा नभएर रोकिएकोमा चित्त बुझाएका थियौँ, अहिले पनि उडान नभएपछि अब यो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि भन्ने सन्देह बढ्न थालेको छ ।आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर झुक्काइएको वर्षाैँ भएको छ । कालिगण्डकी कोरिडोर, मध्ये पहाडि लोकमार्गको अबस्थाले हामीलाई समग्र बिकासमा टेवा पुर्याउला भन्ने कुरा पनि विचाराधीन अबस्थामा नै छ । गुल्मीलाई बिकाशको गति दिँदा तपाइको राजनैतिक जहाज पक्कै पनि दुब्दैनथ्यो होला ।

कमरेड ! अब चुरोमा कुरा गरौ, म गुल्मिदरबार गाउँपालिका जुभुंङ घोराहाको बासिन्दा हुँ । हाम्रो भेगलाई समेटेर गाउँपालिकाको केन्द्र समग्रमा मजुवा या दमुका भएको भए कस्तो सहज र सुलभ हुने थियो, यो बिषय बोकेर तपाईलाई भेट गर्न टिम बोकेर म स्वयम् तपाईसामु पनि पुगेको थिएँ। आज हामीलाई रिँडी पुग्न पौने घण्टा लाग्छ भने हाम्रो गाउपालिका केन्द्र गौँडकोट पुग्न सबा घण्टा लाग्छ, तपाई आफै भन्नुस हामीलाई पायक पर्यो र ? म भोट हाल्न योग्य भएदेखि तपाईको नियमित मतदाता हो, र तपाईको पार्टिको कुनै सदस्यता लिएको पनि छैन, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सुनिक्षित रहेकाले आम नागरिकको प्रतिनिधित्व हुने गरि बिचार, प्रतिक्रिया समेट्ने प्रयास मात्र हो ।

जुभुङ्ग, घोराहा जहां तपाईको मावली घर पनि हो । जहां तपाईलाई सत प्रतिशत भोट खस्ने ठाँउ हो । आजसम्म तपाईको पार्टि बाहेक अरु कोहि भोट माग्न आउन पनि नसकेको ठाँउ हो, तपाई मामाघर जांदाखेरि घरै अगाडीको त्यो जिर्ण काठको पुल देख्नु भएको छ ? सयौं भाईबहिनाको उज्ज्वल भबिष्य बोकेको त्यो पुलमा कति बच्चाले खुट्टा अड्काए, दुर्घटित भए, कति त्रासपूर्ण यात्रा गरेको कहिल्यै देख्नु भएको छ ? समृद्द नेपाल र सुखी नेपाली को नारा घनकाउंदा अझै हामि मक्किएको काठको पुलमा यात्रा गर्नु पर्ने हो र ? त्यहि बढिगाढ खोलामा तटबन्धि नभएर खोलाले बस्ति तिर बाटो सोझ्याउदै छ, खोलामा पानिको बहाब अलिकति बढ्यो भने त्राहि त्राहि हुन्छौं ।

खानेपानी पल्लो गाँउ रुपाकोट बाट आफ्नै लगानीमा अस्थाई रुपमा चलाई रहेको यहालाई थाहा नै छैन होला, त्यो पनि कहिले सम्म हो टुंगो छैन। अब कुरा गरौ बिजुली बत्तिको , आकाशमा कालो बादल देखिएपछि बत्ति जान सुरु गर्छ, म दावाका साथ् भन्दछु यो क्षेत्रमा दैनिक ५ पटक र पानि परेको बेला दैनिक २७ पटक बत्ति आउने जाने गर्छ, भारि बर्षा भयो भने लगातार ३ दिन बत्ति आउदैन, हामीले सम्बन्धित निकायमा सम्पर्क गरेपनि कर्मचारीले फोन घुमाउछन तर समाधान हुदैन, हामि आफै घुम्छौ, हिस्स हुन्छौ, समाधान त परै जाओस चित्त बुझ्दो जवाफ पनि आउँदैन । लगातार ३ घण्टा बत्ति गयो भने मोबाईलमा टावर टिप्दैन, कसैसंग सम्पर्क नभई बस्नु पर्छ । अब तपाई आफै भन्नुस म शहर छोडेर गाउमै फर्केर केहि गर्छु भन्दा मलाई कुनै बिकास का साधनले साथ् दिदैन भने को गाँउ फर्किन्छ होला र महोदय ?

गुल्मिदरबार को सबैभन्दा ठुलोे फाँट हो मेरो गाँउ, जहां कृषिको प्रचुर सम्भावना छ, तर भण्डारणको समस्या र बजार अभाबले कृषि लगानीनै उदेकलाग्दो भैसकेको छ । कथंकदाचित, यो मेरो दुखेसो तपाईको मोबाइल सम्म पुग्यो र पढ्नु भयो भने तपाइँ कुन धरातलमा आएर सोच्नु हुन्छ या पार्टिको पटक पटक मन्त्री र गरिमामय पद सम्झिनु हुन्छ , म कन्फ्य्जनमा छु । यति लेख्दै गर्दा तपाईलाई अन्याय हुन्छ जस्तो पनि लाग्दैन, तपाई उम्मेदवार उठेदेखि तपाईलाई नै भोट दिने भेगले गुनासो पनि तपाई सामु नै राख्नु हाम्रो अधिकार हो । परको कुरा छोडौ तपाइँ आफै जन्मेको ठाउँ र तपाईले उठाएको बलेटक्सार, रानीबास र चौताराको रिङ्गरोडको हालत र तस्बिर मैले तपाईलाई मेसेन्जर मा पठाउनु उचित होला र ?

तपाईको योग्यता, निष्ठा र शालिनतामाथि कहिल्यै प्रश्न गर्ने ठाउ छैन र गर्ने दिन पनि नआओस । यसो भन्दै गर्दा सबै समस्या र गुनासा तपाईलाई मात्र थोपर्न खोजेको पक्कै होइन तर समृद्दिका लामा कुरा गर्दा, देशको काचुली फेर्ने कुरा गर्दा, यहाँले उठाएका आफ्नै मुद्दा सम्बोधन भए जस्तो लाग्छ ?यी माथिका समस्या कुनै ठुला योजना बनाउन पर्ने खालका छन् होला र ? झिना, मसिना समस्या र आधारभूत आबस्यकताका कुरा पनि पुरा भएनन् भन्ने मात्र हो । हामीले महत्वकांक्षी बिकासको अपेक्षा गरेका पनि थिएनौ।

एउटै सपनाका लागि हिजो बुवाले तपाईलाई भोट दिनुभयो आज म तपाईलाई भोट दिएं र भोलि मेरा सन्तानले पनि तपाईलाई नै भोट हाल्नु पर्ने अनि तपाईको फिस्स हासो भित्र हामि सधै अल्झिरहनु पर्ने हो ? पटक पटक मन्त्री हुँदा हर्षले छाती पिट्ने हामि, अब रुने कि हास्ने? यति पाको उमेरको मान्छे, बौद्दिक मान्छे, यतिका बर्ष सम्म राजनीति गर्दै गर्दा एउटा कुनै सक्षम युवाले अवसर नपाउने नै हो त ? तपाईहरु आफुले जित्नको लागि नानाथरी पार्टि संग गठबन्धन र सांठगांठ गर्न हुने, सिद्दान्त र चिन्ह फेर्न हुने तर हामि जन्मिदै एमाले र सधै सुर्य चिन्हको झोले हुनु पर्ने हो र महोदय ?

अन्त्यमा मेरो एउटै आग्रह छ । तपाई आफ्नो लागि सपना देख्नु हुन्छ भने देख्नुस तर अरुको सपना बोकेर हिड्नु भएको छ भने पुरा गरिदिनुस, होइन भने हामि सधै तपाइको बिरासन बन्न जरुरि छ जस्तो लाग्दैन। अब हाम्रो भेगलाई चुनाब “नखाउं दिनभरिको सिकार, खाउं कान्छा बाउ को अनुहार” बनाउनु भएकै हो । अहिले समय आएको छ तपाईले भनेजस्तै सुर्य भोलि फेरी उदाउला भनेर बस्ने दिन पनि नआउला, सुर्यका किरण नपुगेका ठाँउमा पनि फुल र पल्लबीहरु फहरिरहेका हुन्छन ।

बिषय लाई बिट मार्दै गर्दा, मलाई थाहा छ, यी कुरा तपाईलाई सिकाईरहनु पर्दैन, तैपनि जमर्को हो मेरा,े फेरी पनि अपेक्षा छ प्रदिप ज्ञवाली बोल्दा, जनताले आफ्नो आवाजको महसुस गरुन, जननेता को आभास गर्न सकुन ।

 

प्रदीप ज्ञवालीको उत्तरः

निश्चय नै, रुद्रवेणी–वामी सडक समयमा सम्पन्न हुन नसकेको कुरा मलाई हेक्का छ । मैले त्यस क्षेत्रको समेत प्रतिनिधित्व गर्दा अनेकौं टुक्रामा छरेर ठेक्का दिइएको र ठेकेदारहरु सम्पर्कमा नभएको अवस्थामा यस सडकको बिरासत पाएको थिएँ । यस अवधिमा अलपत्र ठेक्काको समस्या समाधान गरिएको छ, सबै खण्डको ठेक्का लागेको छ र डहरे लगायत खोलको पुल डिजाइन भएर ठेक्का लाग्ने चरणमा पुगेको छ । जटिल भौगर्भिक बनोटका कारण बारम्बार माटो परिक्षण र विशेष ढंगको डिजाइन गर्नु पर्दा केही ढिलो भएको हो ।

प्रिय भुवन, तपाईँले स्थानीय तह पुनर्संरचना र त्यस क्रममा घोराहा लगायत बस्तीलाई परेको असहजताको पनि चर्चा गर्नुभएको छ । स्थानीय तह पुनर्संरचनामा हाम्रो पार्टी कस्तो धारणा राख्थ्यो र यस्तो संरचना कसरी बन्न पुग्यो भन्ने बारेमा तपाईँलाई सबै थाहा छ । एउटा चरणबाट गुज्रिसकेको र दुई पटक स्थानीय निर्वाचन समेत भइसकेको परिप्रेक्ष्यमा यसलाई फेरि कोट्याउनु सायद सान्दर्भिक नहोला । तर मजुवाको महत्व र एउटा केन्द्रको रुपमा यसका संभावनाहरु अपरिमित छन् । मैले सोतादेखि रामपुर र घोराहादेखि टारीसम्मको वारिपारिको भूभाग समेटेर यसलाई आर्थिक र शैक्षिक केन्द्रका रुपमा विकास गर्न सक्ने प्रचुर संभावना देखेको छु । यहाँ बहुप्राविधिक शिक्षालाई स्थापना गर्नु र भूमिसुधार तथा नापी लगायत कार्यालय स्थापना गर्ने उद्देश्य पनि यसैतिर परिलक्षित छ ।

प्रिय भुवन, आफ्नो जनप्रतिनिधिका हैसियतले तपाईँले मसँग राख्नु भएका प्रश्नलाई स्वाभाविक ठान्छु र तपार्इँको सार्वभौम अधिकारलाई म सम्मान पनि गर्छु । स्वस्थ बहसले सार्थक निष्कर्ष निकाल्न सहयोग गर्छ । वादे वादे जायते तत्व वोधः भनेर अग्रजहरुले त्यसै भनेका होइनन् ।

तर सामान्यीकरण गर्ने, सबै उस्तै हुन् भन्ने निष्कर्ष निकाल्ने कुराबाट भने तपाईँ जस्तो उच्च शिक्षित व्यक्ति जोगिनु पर्छ भन्ने ठान्छु ।

यति कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।