फोहोर व्यवस्थापनबारे रोटरीले चलायो बहस



काठमाडौं । संघीय, प्रदेश तथा स्थानीय सरकार, समुदाय र सरोकारवाला विभिन्न संघसंस्था एवं नीजि क्षेत्र समेतको हातेमालो, समन्वय र सहकार्यवाट मात्रै फोहारमैला व्यवस्थापन सम्बन्धि चुनौतिको दीर्घकालिन समाधान निस्कन सक्ने रोटरीले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्तर्गतको आईसिएम कमिटि र वातारवरण सम्बन्धि सवकमिटिको आयोजनामा संघीय राजधानी काठमाडौं लगायतका देशका अन्य ठाउँमा देखिएको फोहर व्यवस्थापनको वैज्ञानिक उपायबारेको बहसमा विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले फोहोरले वातावरणमा पारेको असर र त्यसको वैज्ञानिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा आ–आफ्नो राय व्यक्त गरेका हुन् ।

वातावरण संरक्षण एवं फोहोर व्यवस्थापनका लागि आश्यक नीतिगत परिवर्तन, नीतिमा भएका उचित व्यवस्थाको इमान्दारितापूर्वक कार्यान्वयन, नागरिकको सोंच र व्यबहारमा रुपान्तरणका साथै फोहोरमैला व्यवस्थानको प्रविधिबारे आम नागरिकमा व्यापक रुपमा ज्ञान तथा जागरण नफैल्याएसम्म फोहोरमैला व्यवस्थापनको चुनौतिको समाधान हुन नसक्ने विचार कार्यक्रममा व्यक्त गरिएको थियो ।

मूलत काठमाडौं महानगरपालिका लगायतका विभिन्न महानगर तथा नगरहरु  त्यसैगरि राष्ट्रको गौरबको रुपमा रहेको सगरमाथा देखि विभिन्न नदी किनार र डकमा सम्ममा दैनिकजसो थुप्रिने फाहोरको समस्याको दीर्घकालिन समाधानका सन्दर्भमा रोटरीको भूमिका के हुन सक्छ भन्ने बारेमा पनि छलफल गरिएको छ । कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरी इन्टरनेशनलको प्राथमिकताका सातौ विधामध्यको एकका रुपमा रहेको वातावरण संरक्षणका सन्दर्भमा रोटरी इन्टरनेशनलले पनि गम्भिरताका साथ हेरिरहेको बताए।

रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्सलाई उदृत गर्दै गभर्नर राजभण्डारीले रोटरीका कुनै पनि परियोजनाको कार्यान्वयनका सवालमा वातावरणीय प्रभावलाई ख्यालमा राखेर मात्र गर्न मार्गदर्शन गरेको समेत बताए ।

रोटरीले कुनैपनि तहका सरकारको नीति निर्माणका तहमा हस्तक्षेप नगर्ने तर सुझाव, सल्लाह, समन्वय र सहकार्यका लागि भने सदैव उत्साहित रहने गभर्नर राजभण्डारीको भनाई थियो । हामी राज्यले बनाएका नीति भित्र रहेर काम गर्दछौं, राज्यका निकायले सहकार्यका लागि आग्रह गरेको खण्डमा लागि त्यसका लागि हामी तयार नै छौं, गभर्नर राजभण्डारीको धारणा थियो ।

अन्तरक्रिया कार्यक्रममा उठान भएका गम्भीर विषयबस्तुलाई कार्यक्रममा उपस्थित सबै रोटरियनहरुले आ आफ्नो क्लबमा गएर बताउँदै फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणबारेको बहसलाई अगाडि बढाउन समेत गभर्नर राजभण्डारीले आग्रह गरे ।

कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर इलेक्ट राजेन्द्र ध्वजुले जागरणका कार्यक्रममा जोड दिएका थिए भने गभर्नर नोमीनी राजेन्द्रमान शेरचनले रोटरीले फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको बहसलाई अझ व्यापकताका साथ प्रदेशतहसम्म पुर्याउनुपर्ने बताए। शेरचनले प्रत्येक क्लवले अनिवार्य रुपमा वातावरण संरक्षण सम्बन्धि परियोजना गरेको खण्डमा त्यसले वातावरण संरक्षणका सवालमा योग्दान पुग्नुका साथै समुदायमा जागरणमूलक सन्देश प्रवाह हुने बताए ।

No description available.

पूर्व डिस्ट्रिक्ट गर्भनर सञ्जय गिरीले फाहोरको व्यवस्थापनको विषय महत्वपूर्ण हुँदाहुँदै पनि फोहोर उत्पादनलाई नै कसरी निरुत्साहित गर्न सकिन्छ भन्नेतर्फको बहसपनि उत्तिकै अवश्यक भएको बताए । फोहोर व्यवस्थापनको विषय राज्यलाई गाली गर्ने मात्र भन्दा पनि प्रत्येक नागरिकले सोच्नुपर्ने विषय भएको पूर्व डिस्ट्रिक्ट गभर्नर गिरीको धारणा थियो ।

यसैगरि कार्यक्रममा मिस नेपाल अर्थ २०२२ डा. सरिसा श्रेष्ठले नेपालको हकमा फोहोर नै वातावरणीय संकटको प्रमुख कारण भएको बताइन्। फोहोर मैला व्यवस्थापनका सन्दर्भमा अज्ञानता र लापरबाही दुवै कारणले समस्या आएको श्रेष्ठको भनाई छ । श्रेष्ठले फोहोर मैला व्यवस्थापनका सवालमा फोहोरलाई कसरी कम्पोस्ट मलमा रुपान्तरण गर्न सकिन्छ भन्ने बिषयमा पनि आम नागरिकमा पर्याप्त जानकारी नभएको उल्लेख गरिन् । फोहोरमैला व्यवस्थापनको कुरा गर्दा फोहोर संकलन गर्ने कामदार र फोहोर व्यवस्थापन गरिने ठाउँ वरपरका समुदायको स्वास्थ्य अवस्थाबारे पनि सरोकारवाला निकाय जिम्मेबार बन्नुपर्ने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा रोटरी क्लव अफ माउन्ट एभरेष्टका पूर्वअध्यक्ष बदन न्याछोंले फोहोर मैला व्यवस्थापनका सवालमा राज्य मात्र असफल भएको नभएर प्रत्येक नागरिकले पनि आफ्नो कमजोरी स्विकार गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा ब्लू वेस्ट टु भेल्यू संस्थाका सीइओ रोटरियन नबिन विकास महर्जनले फोहोरमैला व्यवस्थापनका सवालमा सबैभन्दा पहिला नीति निर्माणको तहमा वस्नेदेखि आम नागरिकसम्मले आफुमा भएको फोहोर मानसिकता त्याग्नुपर्नेमा जोड दिए। नीतिगत अस्पष्टता, पूर्वाधारको अभाव, मोडालिटीको सवालमा विद्यमान अन्यौलताका कारण फोहोर मैला सम्बन्धि समस्याको दीर्घकालिन समाधान निस्कन नसकेको महर्जनको भनाई थियो ।

कार्यक्रममा शहरी बिकास मन्त्रालयका सहसचिव रबिन्द्र बोहोराले फोहोरमैला सम्बिन्ध ऐन २०६८ लाई संशोधनका लागि सुझाव संकलन थालिएकोले आवश्यक सुझावका लागि अपिल गरेका थिए । मूलत फोहोर मैला व्यवस्थापनको काम स्थानीय सरकारको भएपनि समस्याले गम्भीर रुप लिन थालेको सन्दर्भमा संघीय मन्त्रालय मुकदर्शक बन्न नमिल्ने बताउँदै समस्याको समाधानका सबै उपायबारे मन्त्रालयले विज्ञ तथा सरोकारवाला निकायसँगको परामर्शलाई तिव्रता दिइरहेको बोहोरोको धारणा थियो ।

बोहोराले फोहोर व्यवस्थापनका सन्दर्भमा विकसित देशमा भइरहको अभ्यासबारे पनि अध्ययन भइरहेको बताए। फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानको मार्गचित्र तय गर्नका लागि संघीय सरकार छलफललाई सघन रुपमा अगाडि बढाईरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा सोलिड वेस्ट मेनेज्मेन्ट एशोसियसन अफ नेपालका अध्यक्ष धनप्रसाद आर्चायले फोहोरमैला व्यवस्थापनमा निजी संघसंस्थाको पनि महत्वपूर्ण योग्दान रहेको बताउँदै सबै तहका सरकारसँग फाहोरमैला व्यवस्थापनका सन्दर्भमा हातेमालो गर्न नीजि क्षेत्र पनि तयार रहेको बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरमा फोहोरसम्बन्धि देखिएको समस्या क्रमिक रुपमा समाधान भइरहेको बताउँदै फोहोरमैलाको समस्या दोहोरिन नदिन महानगरले उचित मार्गचित्रबारे सोचिरहेको बताए।

यसैगरि ललितपुर महानगरपालिका वातावरण शाखा प्रमुख प्रदिप आमात्यले ललितपुर महानगरले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा चालेका जागरण लगायतका कदमबारे जानकारी गराएका थिए। कार्यक्रमको अध्यक्षता रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान आइसीएम कमिटिका चेयर सुशिल रिजालले गरेका थिए भने प्यानल डिस्कसनको सहजकर्ताका रुपमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका वातावरण सम्बन्धि सबकमिटि चेयर दिनेश मानन्धरले गरेका थिए ।

सो कार्यक्रमको १४ वटा रोटरी क्लबहरूले होस्ट गरेका थिए भने मुख्य होस्ट क्लबका रूपमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरका अध्यक्ष योगेश शाक्यले गरेका थिए। कार्यक्रममा विभिन्न क्लबबाट उल्लेखनीय उपस्थिति रहेको थियो ।