संस्थापनलाई पाखा लगाउँदै युनियनमा इतरको कब्जा, अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी



हेटौंडा । नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापनइतरका शिव लम्साल विजयी भएका छन् । भर्खर सम्पन्न मतगणनामा पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।

पोखरा महाधिवेशनमा संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।