झापा क्षेत्रमा भारी वर्षा, बिहीबारसम्म कहाँ कहाँ हुन्छ भारी वर्षा ?
काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।
देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।