सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई भनिसकेको छुः प्रधानसेनापति शर्मा



काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारीलाई स्पष्ट जवाफ दिइसकेकाले यसमा अब थप आशंका गर्नुपर्ने नरहेको बताएका हुन् ।

‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु। यसमा थप आशंका नगरौं । यहीँ निराकरण गरौं’ उनले भने । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी हुन थालेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि समितिले छलफलका लागि प्रधानसेनापतिलाई बोलाएको हो ।

यसअघि सेनाले अमेरिकालाई पठाएको पत्र सैन्य तालिमसँग सम्बन्धित नभएको प्रधानसेनापति शर्माले दाबी गरे । मिलिटरी तालिमभन्दा पनि भूकम्पको समय भएकाले विपद्मा काम गर्न पत्र लेखेको उनको भनाइ छ ।

सेनाले १० कात्तिक २०७२ मा एसपीपीलाई पत्र पठाएको थियो । पत्र लेख्दैमा कुनै सैन्य गठबन्धन नहुने प्रधानसेनापति शर्माको भनाइ छ ।