के तपाईंको मतदाता नामावलीमा नाम छैन ? आजै जानुहोस् निर्वाचन कार्यालय !



काठमाडौं । आजबाट निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य सुरु गर्दैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु हुन्छ,’ प्रवक्ता पौडेलले भने ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।

आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।

आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

यसैगरी मतदाता नामावली अध्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरुबाट हुने निर्वाचन आयोगले जनाएको छ ।