

एएफसी एसियन कपः अन्तिम खेलमा सम्हालिन सकेन नेपाल, इन्डोनेशियासँग ७-० ले पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो ।
जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।
खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका हुन् ।
३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाएका छन् ।
५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३-० को अग्रता दिलाए ।
लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।
खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५-० को बनाए ।
खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए ।
यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।
नेपाल समूहको पुछारमा रह्यो ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।
इन्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो । इन्डोनेसिया दोस्रो स्थानमा रह्यो ।