आईसीसी विश्वकप लिग टुः करणको उत्कृष्ट प्रर्दशनसँगै नेपालको शानदार जित, आज अमेरिकासँग खेल्दै



काठमाडौं । करण केसीको लगातार उत्कृष्ट प्रदर्शनसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो । मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । आसिफले ६२ रन बनाए । कुशल ५६ रनमा आउट भए ।

यस्तै देव खनाल १० रनमा आउट भए । रोहित पौडेल २६ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे ।

ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले । सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । उनले ९ ओभरमा मात्र ३३ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । नेपालमा आदिल आलमले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २२ रन मात्र खर्चिएका थिए ।

यस जितसँगै नेपालले १५ खेलमा १५ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ  । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध आज (बुधबार) राति खेल्नेछ ।