सर्वोच्चमा आजदेखि गोला प्रणालीबाट पेसी तोकिँदै
काठमाडौं । सर्वोच्च अदालतमा आज (बुधबार)बाट गोलाप्रथा प्रणालीबाट पेसी आजदेखि लागू हुने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए ।
योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।