घरेलु ओमानसँग नेपाल पराजित, सन्दीप घाइते भएपछि बलिङमा उत्रिएनन्



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ ।

मंगलबार मध्यराती सम्पन्न खेलमा घरेलु टोली ओमानले नेपालले दिएको १९७ रनको लक्ष्य ३१.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाउँदै पूरा गरेको छ ।

नेपालका तर्फबाट स्टार बलर सन्दीप लामिछाने फिल्डिङका क्रममा घाइते भएपछि नेपाल समस्यामा परेको थियो । उनी ओमानसँगको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएर मैदान छाड्न बाध्य भएका थिए ।

ओमानका लागि ओपनर ब्याट्म्यान जतिन्दर सिंहले विस्फोटक पारी खेले । उनले ६२ बलमा १०७ रनको विशाल पारी खेलेका थिए । उनलाई कुशल मल्लले रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।

त्यस्तै ओमानका लागि मोहम्मद नदीमले अविजित ३८,   आयान खानले १८ रन बनाएका थिए भने सुरजकुमारले २० रन बनाएका थिए । त्यस्तै सोयब खान ले ७ रन बनाउँदा कप्तान जिसान मकसुदले ४ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि कुशल मल्ल र करण केसीले २÷२ विकेट लिए भने सुसन भारीले १ विकेट लिएका थिए ।

त्यसअघि ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आशिफले ७ चौका र १ छक्काको मदतले १ सय १२ बलमा सो रन बनाएका हुन् । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् ।

ओमानविरुद्ध शतकमा चुकेपनि आशिफ उच्च स्कोर बनाउने ओपनर बने । आशिफको ब्याट चलेपनि अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।

कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके ।

करन केसीले २१ रन बनाए । सुसन भारी २ रनमा अविजित रहे । नेपालले ७ रन अतिरिक्त प्राप्त गरेको थियो ।

नेपालका ब्याट्सम्यानमाथि दबाब बनाएका ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए ।

निस्टोर धाम्बाले २  विकेट लिएको खेलमा जिशान मकसुद र मोहम्मद नदीमले एक एक विकेट हात पारे । ओमानका आयान खान किफायती रहे । उनले १० ओभरमा २ मेडन राख्दै मात्र २९ रन खर्चिए ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।