प्रचण्डलाई खुल्यो प्रधानमन्त्री बन्ने एउटा बाटो, माओवादी केन्द्रको संसदीय दल नेतामा चयन



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको नेतामा चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्डलाई चयन गरेको जनाइएको छ । यससँगै माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने परिस्थिति आएमा प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुलेको छ ।

संसदीय दलको बैठकबाट पार्टीको प्रमुख सचेतकमा देव गुरुङ चयन भएको जनाइएको छ ।

त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए । तर सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन ।