

जग्गाधनी पुर्जा पाउँदा औधी खुशी

सिराहा – पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिराहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुशी लागेको बताए।
वर्षौँदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुशी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु’, उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुशी छुँ ।’
वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्पर्क गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गरे । प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।