सेनाका सिपाही दर्शनले गरे ढुंगाले हानेर श्रीमतीको हत्या



काठमाडौं । नेपाली सेनाका एक सैनिकले श्रीमतीको हत्या गरेको खुलेको छ । नेपाली सेनामा कार्यरत दर्शन खत्रीले आफ्नी श्रीमती प्रेमा वली खत्रीको ढुंगाले हानेर हत्या गरेको खुलेको छ ।

आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलामा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमान् दर्शनले गरेको खुलेको हो ।

दर्शनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएपछि घटनाको रहस्य खुलेको हो । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वलीको शव भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

मृत भेटिएकी वलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए । आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो ।

आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ । उनले प्रेमाको आफैंले हत्या गरेको प्रहरीसमक्ष बयान दिए ।

पक्राउ परेका गुर्भाकोट नगरपालिका–५, का दर्शन खत्री नेपाली सेनामा कार्यरत रहेका छन् । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत रहेको बताइएको छ ।

दर्शनले प्रेमाको टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । मृत्यु भएपछि शव पानीको खाल्डोमा फालेको पनि उनको बयान छ । दर्शनमाथि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।