

श्रीमान् विदेश रहँदा अजयसँगै एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिइन् जुबामुनी

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित जोडी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएका छन् ।
बक्राहा किनारस्थित पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत भेटिएका प्रहरीले जनाएको छ ।
पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडु र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
उनका अनुसार घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएकी जुबामुनीका पति कान्छा टुडु वैदेशिक रोजगारीका लागि विदेशमा छन् । उनका डेढ वर्षका छोरा छन् भने अजयका २ जना छोरा रहेका छन् ।