एशियाकै पहिलो राफ्टिङ स्कुल सिन्धुपाल्चोकमा निर्माण हुँदै

सिन्धुपाल्चोक । साहसिक पर्यटन प्रवर्द्धन गर्नका लागि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफी खोलाको किनारमा नेपालकै पहिलो र एशियाकै पहिलो राफ्टिङ स्कुल निर्माण भइरहेको छ।

सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष नारायण श्रेष्ठको परिकल्पना अनुसार निर्माण भइरहेको उक्त स्कुलको हाल ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। पर्यटन विभागको आर्थिक सहयोगमा १३ करोड लागतमा निर्माण भइरहेको स्कुल फागुन महिनाभित्रै उद्घाटन गरिने तयारी गरिएको छ।

राफ्टिङ स्कुलको स्थापना नेपालमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको हो। यो स्कुलले राफ्टिङ, कायाकिङ, क्यानोइङ जस्ता जल खेलकुदका विभिन्न तालिम प्रदान गर्नेछ। साथै, नेपालका नदीहरूमा व्यवसायिक रूपमा राफ्टिङ सञ्चालन गर्ने गाइडहरूको उत्पादन गर्ने लक्ष्य यसले राखेको छ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका हिमालबाट बग्ने नदीहरू साहसिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य बन्नसक्छन्। नेपालका प्रमुख नदीहरू – त्रिशूली, भोटेकोसी, कर्णाली, सुनकोसी लगायतका स्थानमा वार्षिक रूपमा हजारौं पर्यटक राफ्टिङ गर्न आउँछन्।

तर, नेपालमा व्यावसायिक रूपमा राफ्टिङ गाइड उत्पादन गर्ने कुनै आधिकारिक स्कुल थिएन। विदेशी प्रशिक्षकहरूले तालिम दिँदै आएका थिए, जसले गर्दा स्थानीय स्तरका युवा गाइडहरूको भविष्य अन्योलग्रस्त बन्ने सम्भावना थियो। यही कारणले सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर राफ्टिङ स्कुल स्थापना गर्ने निर्णय गरिएको हो।

सिन्धुपाल्चोकको बलेफी खोलामा सन् २०१८ मा ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिता आयोजना गरिएको थियो। त्यहाँ भएको प्रतियोगिताले स्थानिय र अन्तर्राष्ट्रिय राफ्टिङ खेलाडीको ध्यान आकर्षण गराएको थियो। त्यही स्थान उपयुक्त ठानी स्कुल निर्माण गर्ने निर्णय गरिएको हो, अध्यक्ष नारायण श्रेष्ठ बताउँछन्।

यो स्कुलले मुख्य रूपमा जल खेलकुद तथा साहसिक पर्यटनसँग सम्बन्धित विविध तालिमहरू प्रदान गर्नेछ। स्कुलले राफ्टिङ तालिम, सुरक्षा सम्बन्धी प्रशिक्षण, व्यावसायिक राफ्टिङ गाइड उत्पादन, आपतकालीन उद्धार प्रशिक्षणका साथै अन्य जल खेलकुद तालिम पनि सञ्चालन गर्ने छ ।

राफ्टिङ स्कुलको स्थापना भएपछि सिन्धुपाल्चोकमा साहसिक पर्यटन थप प्रवर्द्धन हुनेछ। नेपालमा हालसम्म तालिम प्राप्त गाइडहरूको संख्या सीमित छ। तर, यो स्कुल सञ्चालनमा आएपछि नेपालमै व्यावसायिक राफ्टिङ गाइड उत्पादन हुनेछन्, जसले अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने अवसर पाउनेछन्।

अध्यक्ष नारायण श्रेष्ठ भन्छन्, “हाम्रो उद्देश्य नेपाललाई जल खेलकुदको मुख्य गन्तव्य बनाउने हो। यहाँ प्रशिक्षित गाइड उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरको लाइसेन्स प्रदान गर्ने योजना छ।”

नेपालको पर्यटन क्षेत्रमा यस स्कुलको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ। यो स्कुल सञ्चालन भएपछि नेपालमा साहसिक पर्यटन गर्ने पर्यटकहरूको संख्या बढ्ने, स्थानीय समुदायलाई रोजगारी सिर्जना हुने, र नेपाली गाइडहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्राप्त हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *