भारतमा मृतकको संख्या १५ हजार नाघ्यो, ४ लाख ९१ हजार बढी संक्रमित



नयाँदिल्ली – पछिल्ला दिनमा तीब्रगतिमा संक्रमितको संख्या बढ्दै गएको भारतमा एकै दिन संक्रमित हुनेको संख्यामा रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा १८ हजार १ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । भारतमा हालसम्म ४ लाख ९१ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ४ सय १ जनाको मृत्यु भएसँगै हालसम्म भारतमा १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएको छ । पछिल्लो २४ घन्टामा ३७ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जना संक्रमित देखिएका छन् भने १ लाख २६ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७६ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको हो । त्यस्तै हालसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार ९ सय ३३ पुगेकोछ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय २४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा ४० हजार ६ सय ७३ जना संक्रमित देखिएको ब्राजिलमा हालसम्म ५५ हजार ५४ जनाको मृत्यु भइसकेको छ ।