रुकुम घटनामा संलग्न २३ जना पुर्पक्षका लागि थुनामा



रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न २७ प्रतिवादीमध्ये २३ जनालाई अदालतले पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमले घटनामा संलग्न चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

त्यस्तै अदालतले केटीका आमालाई भने १ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका अन्य ३ जनालाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

गत जेठ १० गते चौरजहारीमा घटेको घटनामा ६ जना युवकहरुको ज्यान गएको थियो । विवाहको विषयलाई लिएर भएको उक्त घटनामा स्थानीयहरुले केटापक्षका युवकहरुलाई कुटपिट गरेर हत्यापछि भेरी नदीमा फालेको आरोप लगाउँदै मुद्दा चलाइएको छ ।

उक्त घटनामा संलग्न ३४ जनामध्ये २७ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ भने ५ जना फरार रहेको जनाइएको छ ।