डेढ लाख शान्ति सैनिक खटिए



काठमाडौं । शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।

हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका पाँच हजार नौ सय १६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म दुई हजार सात सय सात नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।

सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ ।

पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आ-आफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए ।