कांग्रेस महाधिवेशन आजबाट सुरू, चुनाव र आन्दोलनबारे छलफल गरिंदै



काठमाडौं – १४औं महाधिवेशन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका विषयमा छलफल गर्न आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् ।

बैठकमा १४ औं महाधिवेशनबारे छलफल हुने उनले बताएका छन् । कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा सम्भव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो । सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ ।

फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ । कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ ।

क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको केन्द्रीय कार्यसमितिमा छलफल हुने कांग्रेसले जनाएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले पनि विरोधका कार्यक्रम गर्दै आएको छ । तर कांग्रेसको आन्दोलन प्रतिनिधिसभा पुनः स्थापनाका लागि सशक्त हुन सकेको छैन । प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त सडक आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताहरुबीच नै साझा धारणा बन्न सकेको छैन ।

कांग्रेस सभापति सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा आफूहरु नबोल्ने बताइरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखका लागि घोषणा गरेको चुनाव कांग्रेसले उपयोग गर्नुपर्ने बताइरहेका छन् । यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमानसिंहलगायतका नेता भने प्रतिनिधिसभा पुनः स्थापनाका लागि कांग्रेसले सशक्त सडक आन्दोलन गर्नुपर्ने बताइरहेका छन् । प्रतिनिधिसभा विघटन, चुनाव र सडक आन्दोलनका विषयमा अलमल देखिएको कांग्रेस वैठकमा आज यी विषयमा पनि छलफल हुने बताइएको छ ।