मिथिलाञ्चलमा यसरी गरियाे हलोगोरु पूजा



जलेश्वर – श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् ।

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरुसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन् । उनीहरुले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।

श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन् । हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ-आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन् ।

हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद् हुन्छ । हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ ।