डढेलोे नियन्त्रण कठिन, दोषीको खोजी गर्ने निकायकाे बेवास्ता



रसुवा – पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पुर्‍याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।

सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने विपद् र समाधानका विषयक कार्यक्रमले विपद्को अवस्थामा खोज, उद्वार एवं तत्कालको राहत र वन जङ्गलको डढेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने तय भएको हो ।

सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपाङ्गता पुनःस्थापना केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भीरपाखो भएका कारण डढेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताए ।

गत महिना हाकु क्षेत्रको जङ्गलमा लागेको डढेलो तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। भौगोलिक विकटता, बढी भीरपाखो, अधिकांश समय चलिरहने हावाहुरी जस्ता कारण रसुवाको जङ्गलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन् ।

रसुवाको जङ्गल समय–समयमा धेरै डढेलोको चपेटामा पर्ने र डडेलो किन लगाइन्छ दोषी को हो भन्ने विषयमा खोजी गर्ने निकायले बेवास्ता गर्दा वर्षेनी जङ्गलका स–साना वनस्पति नोक्सान हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमा खोज उद्वारका केही सामग्री मौज्दात रहेको प्रजिअ पन्तले बताए । उनले अपुग सामग्री जुटाउने प्रयासमा आफू अगाडि बढिरहेको जानकारी दिए। चालू आर्थिक वर्षमा दुई घरमा आगलागी हुनाको साथै वन कार्यालयको हाकु, लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको ग्राङ एवं यार्सा क्षेत्रको जङ्गलमा डढेलो लागेको बताइन्छ ।