बाैंदीकालीलाई ‘प्रथम म्याग्दी युवा कप’ उपाधि

म्याग्दी । बेनीमा बिहीबार सम्पन्न २ लाख पुरस्कार राशीको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको वौदीकाली गाउँपालिकाले जितेको छ।

१३ समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो।

पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो।

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघ सान्त्वना पुरस्कार पाएको छ। पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद २ लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन्।

यसैगरी, राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ। छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन्। राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गरे।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *