प्रहरीको उमेर हद अध्ययन कार्यदल गठन, होला त १६ वर्षे पेन्सनबारे अध्ययन ?



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा विद्यमान रहेको ३० वर्षे सेवा अवधिका बारेमा अध्ययन हुने भएको छ । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने÷नहटाउने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले त्यस सम्बन्धी अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय उमेर हद अध्ययन कार्यदल गठन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गृहका अनुसार कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डिआइजी), अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव कृष्ण गैरे रहेका छन् । गैरेलाई सदस्यसचिवका रुपमा जिम्मेवारी दिइएको छ ।

एक महिना समयावधिसहित गठन गरिएको समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

त्यसबाहेक प्रहरीमा १६ वर्षे पेन्सनको कुरा पनि चर्चा चलिरहेका बेला समितिले त्यसबारे अध्ययन गर्ने÷नगर्ने भने खुलेको छैन । तल्ला तहका प्रहरी कर्मचारीहरुले नेपाली सेनामा जस्तै गरी १६ वर्षमै पेन्सनको माग गर्दै आवाज उठाइरहेका छन् ।