सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति



काठमाडौं । सत्तारुढ दलहरुबीच नेकपा एकीकृत समाजवादीलाई समेत समेट्दै अर्को लिखित सहमति भएको छ ।

मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबीच लिखित सहमति भएको हो।

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो ।

त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।

सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ ।

WhatsApp Image 2024-03-12 at 12.07.51_51d2db39