नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
काठमाडाैं । नेपालले नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको जित हात पारेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरी फाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।
१२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुल्सन झाले ३८ रन बनाएका थिए ।
त्यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।
शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।
यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।
४ खेलपछि नेपालको ४ अङ्क रहेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा पहिलो स्थानमा रहेको छ । नामिबिया ३ खेलबाट २ अङ्कसहित तेस्रो स्थानमा छ ।