रविलाई प्रचण्डको अनुरोध- सहकारी पीडितलाई छिटो न्याय दिन चाहान्छु, तपाईको पनि सहयोग चाहियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो ।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरेको छ । सुझावपत्र बुझ्दै जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको जानकारी गराएका छन् ।

प्रचण्डले भने,‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।’

गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो।