आत्महत्या गर्ने थलो बन्दै नारायणी पुल, एक सातामै ३ जनाले हाम फालेर गरे आत्महत्या



गैंडाकोट । पूर्वी नवलपुरको गैंडाकोट र चितवन जोड्ने नारायणी नदी पुल पछिल्लो समय आत्महत्या गर्ने थलोको रुपमा परिचित हुन लागेको छ ।

पछिल्ला एक साताभित्र मात्रै ३ जनाले सोही पुलबाट हाम फालेर ज्यान गुमाएका छन् । आत्महत्या गर्नेको संख्या बढ्दै जान थालेपछि गैंडाकोट नगरपालिका र भरतपुर महानगरपालिकाले त्यस किसिमको कार्य हुन नदिनका लागि केही कार्यक्रम बनाउने तयारी समेत गरेको जनाइएको छ ।

पछिल्लो पटक बिहीबार पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउँसो परिचय नखुलेका अन्दाजी ५०र५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए ।

स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुरुषको अझै पहिचान खुलेको छैन ।

यस्तै शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी थिइन । उनको पनि मृत्यु भएको छ । सोमबार बिहान पनि पहिचान नखुलेकी अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फाल्दा मृत्यु भएको थियो ।