नेपाली सेनाका ७ जर्नेल र ७ कर्णेलको सरुवा, को–कहाँ पुगे ?



काठमाडौं । नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) र महासेनानी (कर्णेल) हरुको सरुवा भएको छ । सेनाका सातजना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको जनाइएको छ ।

मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारीको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ पश्चिम पृतना हेडक्वार्टरबाट कार्यरथी विभाग पुगेका छन् ।

त्यस्तै सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् ।

त्यस्नै उपरथी सुदर्शन सिलवाल सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयबाट सरुवा भएर मध्यपूर्वी पृतना हेडक्वार्टर गएका छन् ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरको कार्यभार कार्यरथी विभागबाट सरुवा भएका गणेशकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् ।

त्यसैगरी बढुवा भएका रथी अशोक सिग्देलको स्थानमा उपरथी योगराज शर्मा आएका छन् । त्यस्तै उपरथी सागरबहादुर थापाले प्रबन्धरथी विभागको समेत कार्यभार सम्हाल्ने भएका छन् । उनी यसअघि उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत थिए ।

त्यस्तै सेनाका जर्नेलसँगै ७ महासेनानी (कर्णेल) हरुको पनि सरुवा भएको छ ।

महासेनानी अन्जनकेशर खत्री र जयन्द्र केसी सैनिक ईन्टेलिजेन्स निर्देशनालय पुगेका छन् । यसअघि खत्री वीरेन्द्र अस्पताल र केसी प्रबन्धरथी विभागमा कार्यरत थिए । त्यस्तै उपत्यका पृतना हेडक्वार्टरमा महासेनानी वीरेन्द्र मल्ल ठकुरी नम्बर ६ बाहिनी अड्डाबाट उपत्यका आएका हुन् ।

त्यस्तै नम्बर ९ बाहिनी अड्डाका महासेनानी दिवशदेव खड्काको सरुवा वीरेन्द्र अस्पतालमा भएको छ । त्यसैगरी यसअघि उत्तरपश्चिम पृतना हेडक्वार्टरमा रहेका महासेनानी सुरेन्द्र सापकोटा सैनिक सामग्री उत्पादन निर्देशनालय पुगेका छन् ।

नम्बर १८ बाहिनी अड्डाका महासेनानी डम्बरबहादुर आलेमगर मध्यपश्चिम पृतना हेडक्वार्टर गएका छन् । यता, मध्यपृतना हेडक्वार्टरमा रहेका महासेनानी भोला पाण्डे प्रबन्धरथी विभागमा आएका छन् ।