प्रधानसेनापति शर्माको चेतावनी– सेना बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुनू



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन चेतावनी दिएका छन् । मंगलबार कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपाली सेनामा सरुवा, बढुवा लगायत वृत्तिविकास सम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको र यसबारे सकलदर्जालाई जानकारी पनि भएको भन्दै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन प्रधान सेनापतिले सचेत गराए ।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको बताउँदै प्रधानसेनापति शर्माले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकुलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिवद्ध रहेको दाबी गरे ।

यस्तै उनले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट एकिन गरेर मात्रै जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरे । प्रधानसेनापति शर्माले रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यता जस्ता विषयमा उठेका प्रश्नको जवाफ दिए ।

विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको स्मरण गराए । जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरूको सहभागिता रहेको थियो ।